भरतपुरमा ईभी कारको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा ईभी कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान ९ बजे फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभी कारले पैदलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले बिहान ९ः५४ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा घाइते भएका अन्य दुई पैदलयात्रीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले कार र चालक भरतपुर–१६ निवासी ३३ वर्षीय मनोज पौडेललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।