छ जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु
देशका विभिन्न छ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोदेखि शुक्रबारसम्म धनुषा, सिराहा, तनहुँ, नवलपरासी पूर्व, बारा र कैलालीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
धनुषाको जनकपुरधाममा टिपरको ठक्करबाट स्कुटर चालक महोत्तरीका २० वर्षीय नबिन चौधरीको मृत्यु भएको छ । त्यस्तै, सिराहाको धनगढीमाईमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५५ वर्षीय श्रीराम यादवको ज्यान गएको छ ।
तनहुँको आँबुखैरेनीमा स्कुटर दुर्घटनामा २४ वर्षीय अमन भुजेलको मृत्यु भएको छ भने नवलपरासी पूर्वको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट ४८ वर्षीय कमल गाहाको ज्यान गएको छ ।
यसैगरी, बाराको कलैयामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा ३० वर्षीया शिवपुजनी देवी र कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा ३५ वर्षीया सुशीला बमको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।