लुम्बिनी प्रदेशको राजधानीमा प्रशासनिक भवनको काम धमाधम चल्दै
लुम्बिनी प्रदेशका राजधानी बुटवलबाट दाङ सरेपछि मुख्य समस्या मन्त्रालयको लागि प्रशासनिक भवन थियो । जसका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले तयार पारेको गुरु योजनाअनुसार अहिले दाङको देउखुरीमा १० मन्त्रालय रहने प्रशासनिक भवन निर्माणको काम धमाधम चलिरहेको छ ।
यस्तै, प्रदेश सभाको दोस्रो चरणको काम पनि चलिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालयका भवनमध्ये ९ वटाको काम भइरहेको निर्माण आयोजना कार्यान्वयन परियोजनाप्रमुख इन्जिनियर ईश्वरजोशीले रातोपाटीलाई बताए ।
उनका अनुसार ६ वटा भवनको ४ तलाको काम चल्दैछ। मुख्यमन्त्री कार्यालयको भवनको ३ तलाको काम भइरहेको छ भने अन्य दुइटा भवनको जगको काम चलिरहेको उनले जनाए । एउटा भवनको भने अझै काम सुरु भएको छैन ।
प्रदेश सरकारको ती प्रशासनिक भवनको निर्माणको लागि शर्मा सगुन जेभी कम्पनीले भ्याटबाहेक ३ अर्ब ९करोड रुपैयाँको लगानीमा सम्झौता गरेको थियो। प्रमुख जोशीले अहिले भवनको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २० प्रतिशत भएको बताए ।