सस्तो मूल्यमै भारत जाँदै नेपाली चिया
भारतीय व्यवसायीहरु नेपालबाट आयात हुने सस्तो मूल्यको चियाले समग्र भारतीय निर्यात नै प्रभावित बनेको बताउन थालेका छन् । ‘बिजनेस स्ट्यान्डर्ड’मा प्रकाशित समाचारमा नेपालको सस्तो चियाका कारण चिया निर्यात नै प्रभावित भएको भारतीय व्यवसायीहरूले बताएका हुन् ।
भारतको पश्चिम बंगालको दार्जिलिङ र अन्य स्थानमा ठुलो मात्रामा चिया खेती हुँदै आएको छ । चीन, श्रीलङ्का र केन्यापछि भारत विश्वको चौथो ठुलो चिया निर्यातक राष्ट्र हो । उत्पादनका हिसाबमा विश्वको दोस्रो स्थानमा रहेको भारतले अधिकांश चिया स्वदेशमै खपत गर्छ ।
पछिल्लो समय आयातकर्ताको मापदण्डअनुसार बगानलाई ‘अर्ग्यानिक’मा परिणत गर्दा चिया उत्पादन नै घटेको छ । उत्पादन घटेपछि चिया निर्यातसमेत प्रभावित बन्छ । तर, भारतीय चिया व्यवसायीले नेपालको सस्तो उत्पादनका कारण आफ्नो बजार प्रभावित बनेको बताउन थालेका छन् ।
सस्तो मूल्यमा पाइने नेपालको उत्पादनका कारण भारतीय उत्पादन बिक्न छाडेको भारतीय व्यवसायीको भनाइ छ । ‘विकल्पका रूपमा रहेको छिमेकी नेपालको सस्तो उत्पादनले भारतीय चियाको बजार खस्केको छ,’ समाचारमा उल्लेख छ, ‘दार्जिलिङको चियाको भविष्य अन्धकार देखिँदैछ ।’
आर्या टी स्टेट दार्जिलिङका प्रबन्धक शुभाषिस रोय नेपालको उत्पादनका कारण हजारौँ भारतीय मजदूरले पूर्णरुपमा रोजगारी गुमाउने खतरा बढ्दै गएको बताउँछन् ।
ब्रिटिस शासनको समयमा १९औँ शताब्दीको मध्यबाट दार्जिलिङमा चियाको खेती सुरु भएको थियो । हाल दार्जिलिङमा ८७ चिया बगान छन् । र, यी बगान १७ हजार ८०० हेक्टरमा फैलिएका छन् । यस्तै, सन् २०२२ मा ६ हजार ६४० टन चिया उत्पादन भएको थियो । यो चियालाई भारतीयले अर्ग्यानिक दाबी गर्दै आइरहेका छन् ।
जबकि, सन् २०१९ मा दार्जिलिङमा ७ हजार ७९० टन चिया उत्पादन भएको थियो । तर, विश्वभरका भारतीय चिया खरिदकर्ताले दार्जिलिङको चियामा अत्यधिक रासायनिक मल प्रयोग गरेको आरोप लगाएका थिए । यसपछि भारत सरकारले आफ्नो उत्पादनलाई खरिदकर्ताको मापदण्डअनुसार ‘अर्ग्यानिक’मा ढाल्ने निर्णय गरेको थियो । जसबाट करिब ४० प्रतिशतले उत्पादन घटेको बताइन्छ ।
दार्जिलिङको रिङटोङ चिया बगानका लगानीकर्ता सञ्जय चौधरी बगानलाई अर्ग्यानिक बनाउने निर्णय गरे यता ४० प्रतिशतले उत्पादन खस्केको बताउँछन् । सन् २०१७ मा २५१ मिलियन किलोग्राम चिया निर्यात भएकोमा सन् २०२२ सम्म आइपुग्दा २२६ मिलियन किलोग्राम चियामात्रै निर्यात भएको तथ्याङ्क छ ।
नेपाल चिया उत्पादक संघका महासचिव सुरेशकुमार अग्रवाल नेपालमा गत वर्ष आन्तरिक मागभन्दा दोब्बर बढी चिया उत्पादन भएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै अग्रवालले भने, ‘गत वर्ष नेपालमा आन्तरिक खपतको तुलनामा दोब्बरले चिया उत्पादन भयो ।’ जसकारण नेपालको उत्पादन सस्तोमा भारतको सिलिगुढी लगेर बेच्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
भारतको सिलिगुढीका व्यापारीहरूले सस्तो मूल्यमा नेपालबाट चिया किन्ने गरेका छन् । तर, भारतको संघीय र प्रदेश सरकार तथा व्यावसायिक छाता संगठनले भने नेपाली सस्तो चिया नकिन्न अनौपचारिक उर्दी जारी गर्छन् । यद्यपि, सस्तो मूल्यमा किनेको चिया महँगोमा बेच्न पाउने भएकाले भारतीय व्यापारीले नेपाली चिया किन्दै आएका छन् ।
तर, नेपालमा उत्पादित चिया भारतबाहेक तेस्रो मुलुकमा बिक्रीका लागि विभिन्न समस्या छन् । भू–परिवेष्ठित मुलुक भएकाले नेपालको ‘लजिस्टिक कस्ट’ नै महँगो छ । यस्तै, नेपालमा न्यून मात्रामा उत्पादन हुने भएकाले विदेशी आयातकर्ताले मागेजति ठुलो परिमाणमा चिया निर्यात सम्भव नरहेको व्यवसायीको भनाइ छ । जसकारण, नेपालको चिया भारतीय बजारमै भर पर्नुपरेको चिया उत्पादक संघ बताउँछ ।
नेपालमा मुख्यगरी पूर्व क्षेत्र झापा, इलाम र ताप्लेजुङमा चिया खेती हुन्छ । यसमध्ये इलाम र झापामा मात्रै नेपालमा उत्पादन हुने कुल चियाको ९० प्रतिशत उत्पादन हुन्छ । यसबाहेक, अन्य जिल्लामा समेत न्यून मात्रामा चियाको खेती हुँदै आइरहेको छ ।