कोरलानाका भन्सारको राजस्व साढे तीन महिनामै ११ अर्ब ४५ करोड
नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयले चालु आव २०८३/८४ मा नौ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी सङ्कलन गरेको हो।
भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म कोरलानाकाबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ बराबरका सामान आयात भएका छन्। यस अवधिमा नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरका सामान चीनतर्फ निर्यात भएका छन्।
सोही अवधिमा चीनबाट आयात गरिएका छ हजार ५०१ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ।
रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरलानाकाबाट आयात–निर्यात कारोबार बढेको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।