नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर लागू
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर सङ्कलन सुरु गरिएको छ। गएराति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो।
आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
सुरुवाती चरणमा नगद तथा क्यूआरमार्फत शुल्क भुक्तानी गर्न सकिनेछ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणालीमार्फत स्वचालित रूपमा दस्तुर सङ्कलन गर्ने तयारी रहेको आयोजनाले जनाएको छ।
सङ्कलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। दस्तुर सङ्कलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।