अध्यादेशको सट्टा अध्यादेशबाटै बजेट ल्याउन कोशी प्रदेश सभाको अधिवेशन अन्त्य
एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे कुनै छिनोफानो नगरी कोशी प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ।
अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारी स्वरुप सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको हो।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गरेका छन्। प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिशमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कोशी प्रदेश यतिबेला एमाले नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटबाट चलिरहेको छ। भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो। मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरुले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताइरहेका थिए। तर, मुख्य विपक्षी एमाले र राप्रपाले संसद बैठक बहिष्कार गरेको दिन नै सरकारले अधिवेशन अन्त्य गरेर अर्को अध्यादेश ल्याउने तयारी गरेको हो।
सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने बेलामा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेको विरोधमा बुधबार एमाले र राप्रपाले प्रदेश सभा बैठक बहिष्कार गरेका थिए।
‘बुधबारबाट सदन चल्न नसक्ने देखियो’, गठबन्धनका एक नेताले भने ‘यस्तो अवस्था रहे बजेट होलिडेमा पुग्ने खतरा भयो। त्यसैले अध्यादेशबाट बजेट ल्याउन संसद् अधिवेशन अन्त्य गरेका हौं।’
प्रदेशमा चलिरहेको सत्ता राजनीतिको दाउपेचको घानमा प्रदेश सभा परेपछि अध्यादेशमार्फत बजेट ल्याउन अधिवेशन अन्त्य गरिएको यसपालि मात्रै होइन।
तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले पनि चल्दाचल्दैको बजेट अधिवेशन अन्त्य गरेर जेठ ३२ मा अध्यादेशमार्फत बजेट ल्याएका थिए। उक्त आर्थिक तथा विनियोजन अध्यादेश असार १४ गते प्रदेश सभामा टेबल भएको थियो।
संवैधानिक प्रावधानअनुसार संसदमा टेबल भएको ६० दिनभित्रमा अध्यादेश प्रदेश सभाले पास गर्नुपर्ने अथवा विकल्पमा प्रतिस्थापन गर्नुपर्ने हुन्थ्यो। गठबन्धन सरकार एमालेले ल्याएको बजेट स्वीकार नगर्ने, एमाले र राप्रपाले सदन चलन नदिने भएपछि फेरि अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको हो।