हायात होटलको पार्किङबाट झन्डै तीन किलो युरेनियमजस्तो पदार्थसहित आठ पक्राउ
काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन्। प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ। नेपाल प्रहरीको विशेष ब्युरो तथा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरीले यसबारे आधिकारिक रूपमा जानकारी दिएको छैन। ती व्यक्तिहरूलाई वृत्तको टोलीले मंगलबार काठमाडौं जिल्ला अदालत लगेको छ।
‘अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बाँकी कुरा सार्वजनिक गरिने छ,’ एक प्रहरी अधिकृतले भने। बरामद भएको सो पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको छ।