संखुवासभा हत्या प्रकरण : पाँच जनाको हत्यामा एउटै चिर्पट प्रयोग
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् ।
डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर घरमा भएको सम्पत्ति र मृतकले लगाएको गरगहना सुरक्षित भएकाले लुटपाटका लागि हत्या भएको पाइएन भने बाहिरबाट आएर घटना गराएको पनि देखिएन ।
अनुसन्धानका क्रममा लोकबहादुरमाथि अनुसन्धानको दायरा साँघुरो भएको उनले बताए । त्यसक्रममा उनले आफैंले ६ जनाको हत्या गरेको स्वीकार गरेका छन् ।
लोकबहादुरले बताएअनुसार उनी वैदेशिक रोजगारीमा गएका थिए । तर पछिल्लो पटक विरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएका थिए । उनले औषधि समेत खाइसकेको पाइएको डीआईजी बीसीले जानकारी दिए ।
लोकबहादुरका हजुरबुवा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजुभाइ थिए । लोकबहादुरका हजुरबुवाले आफ्नो मृत्यु हुने क्रममा तेजबहादुरलाई आफ्ना छोराहरुको पनि रेखदेख गर्न आग्रह गरेका थिए । परिवारको हर्ताकर्ता तेजबहादुर बेलाबेला उनीहरुको घरमा जाने र सम्झाउने गरेका थिए ।
लोकबहादुर आक्रमण र झैझगडा गर्ने गर्थे । अरूले भनेको नमान्ने, अल्छी स्वभावका भएकाले तेजबहादुरले बेलाबेला गाली गर्थे । काम नलाग्ने, पागल जस्ता शब्द प्रयोग गरेर गरेको गाली लोकबहादुरको मनमा गढेको पाइएको प्रहरी अधिकृतहरुले बताएका छन् ।