कोरोना कोषबाट ५ महिनामा १ अर्ब ४० करोड खर्च
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट चालु आर्थिक वर्षको पहिलो ५ महिनामा साढे १ अर्ब रुपैयाँ खर्च भएको छ ।
महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर १५ सम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट १ अर्ब ४० करोड ३७ लाख रुपैयाँ खर्च भएको छ ।
यो वर्ष कोषमा आम्दानी भने न्यून छ । ५ महिनामा कोषका लागि ४३ करोड २३ लाख ४८ हजार रुपैयाँ आम्दानी भएको छ । कोषमा आर्थिक वर्ष २०७६/७७ बाट १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि आएको थियो ।
यो वर्ष कोषबाट १ अर्ब ४० करोड रुपैयाँ खर्च भएसँगै अब भने कोषमा मात्र ३८ करोड ४४ लाख ७८ हजार रुपैयाँ बाँकी रहेको महालेखाको तथ्यांकमा उल्लेख छ ।
सरकारले गत चैतमा यो कोष खोली रकम जम्मा गर्न आहृवान गरेको थियो । कोषमा अधिकांश सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाबाट रकम सहयोग भएको छ ।