प्रदेश १ सांसद उषाकला राई प्रचण्ड-नेपाल पक्षमा
प्रदेश १ की सांसद तथा नेकपा नेतृ उषाकला राईले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सम्मानपूर्वक दिएको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी छन् ।
सेतोपाटीसँग कुरा गर्दै उनले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको बताइन्। आफ्ना शुभचिन्तकको सुझावका आधारमा प्रधानमन्त्री ओलीसँग रहन नसकेको उनले बताइन्।बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राईले जनताभन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बतााएकी हुन्।
‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ। तर, पद र पैसा केही होइन। जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ,’ उनले भनेकी छन्,‘सबै प्रकारका गलत कुराहरू मुख्य गरेर भ्रष्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाइरहेका थियौं। तर आज त्यो अलपत्र परेको छ।’
भ्रष्टाचारको अन्त्य गरी समृद्धिका मुद्दाहरूलाई अगाडि बढाइरहेको बेला ती सबै कुरा अलपत्र पार्ने काममा आफू नलाग्ने उनले बताएकी छन्।
‘यो बीचको विकसित राजनीतिक परिघटनामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नुभएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु। तर मेरा ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ भएको छु। त्यसकारण विनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य नरहेको सबैमा अनुरोध गर्दछु।’