गृह मन्त्रालयले बर्दिबास घटना छानविन गर्ने
गृह मन्त्रालयले महोत्तरीको बर्दिबासमा गत सोमबार भएको बालिका हत्या र त्यसपछि उत्पन्न परिस्थितिबारे सत्यतथ्य छानविन गर्न समिति गठन गरेको छ ।
बर्दिवास नगरपालिका वडा नम्बर १४ की ६ वर्षिया बालिका गुलाबसा खातुनको शव बोरामा फेला परेको थियो। बलात्कारपछि बालिकाको हत्या गरिएको भन्दै आफन्त र स्थानीय बासिन्दाले प्रदर्शन गर्दा प्रहरीको गोलीले बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो ।
उक्त घटनाबारे छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । घटनाका अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए ।
न्यौपानेको परिवारलाई उचित राहत उपलब्ध गराउन र प्रदर्शनमा घाइते भएकाहरूको सरकारले उपचार खर्च व्यहोर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । बालिका हत्या गर्नेलाई कानुनअनुसार कारवाही गरिने गृहले जनाएको छ ।