एकैदिन शेयर बजारमा झन्डै ७ अर्बको कारोबार
आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।
पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ। आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो। उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ। बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिदविक्री भएको छ।
कारोबार सुरू भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ। दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ। सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ३ सय ४५ अंकमा बन्द भएको छ। कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेकका सबै समूहका सूचकहरू घटेका छन्।
यसअघिका दिनहरूमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरू ती क्षेत्रको शेयर बिक्री गरी बैंकतर्फ आकर्षित भएको देखिन्छ। त्यसैले अन्य समूहमा दबाब भइरहँदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ। विकास बैंक शून्य दशमलव ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ।
लगानीकर्ताहरू तुलनात्मक रूपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ।
घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ। यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ।
आइतबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लख १९ हजार रुपैयाँको भएको छ। यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यसबाहेक २० करोड रुपैयाँ बढीको शेयर कारोबार हुने कम्पनीहरूमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम सिमेन्ट रहेका छन्। सिटिजन्स म्युचुअल फण्ड दोस्रोका इकाइधनीहरूले १० प्रतिशतले कमाएका छन्।
यस्तै जानकी फाइनान्सका शेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन्। बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिए पनि माउन्टेन हाइड्रो नेपालका शेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन्।