एक महिनामै करिब ४०० व्यक्ति तथा फर्म कालोसूचीमा
कर्जा सूचना केन्द्र (सीआईबी) ले कात्तिक महिनामा मात्रै करिब चार सय व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको आग्रहमा सीआईबीले व्यक्ति तथा फर्महरुलाई कालोसूचीमा राखेको हो ।
ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई पनि सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा कालोसूचीमा राख्ने गरेको छ । सीआईबीले दिएको जानकारी अनुसार कात्तिक महिनामात्रै ३ सय ८८ व्यक्ति फर्म कम्पनीहरु कालोसूचीमा परेका छन् ।
यीमध्ये धेरै ऋण लिएर नतिर्नेहरु रहेका छन् भने कतिपय खातामा रकम नभएको चेक दिएर दुःख दिनेहरु रहेका छन् । कात्तिक महिनाको २ गतेमात्रै सीआईबीले ५ जनालाई कालोसूचीमा राखेको जनाएको छ ।
२ गते व्यक्तितर्फ प्रमिला सिंह, मनकुमार बस्नेत र पूर्ण प्रसाद तिमिल्सना नाम गरेका व्यक्ति कालोसूचीमा परेको केन्द्रले जनाएको छ । २ गते नै अरनिको ट्रेडिङ कम्पनी र श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्थालाई सीआईबीले कालोसूचीमा राखिएको जनाएको छ ।
सीआईबीका अनुसार लकडाउन यतामात्रै कालोसूचीमा पर्नेको संख्या २ हजार ७८ पुगेको छ
यसरी कालोसूचीमा पर्ने सहकारी संस्थाहरुको संख्या भने अत्यन्तै कम हुन्छ । केन्द्रका अनुसार हालसम्म ५ वटा सहकारी संस्था कालोसूचीमा रहेका छन् । २०६० साल पुस २८ गते शैक्षिक संस्था सहकारी संस्था कालोसूचीमा परेको थियो ।