५ जनाको मृत्यु, २ काे अवस्था गम्भीर
(गुल्मी) जिल्लाको इस्मामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।
इस्मा गाउँपालिका वडा नम्बर ४ साबिक दोहली गाबिसको हुला गाउँबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको स्थानीयले बताए । ५ जनाको मृत्यु भएको र २ जना घाइते भएको जानकारी पाइएकाे छ ।
जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठ सङ्ग बुझ्दा ५ जनाको मृत्यु भएको तर नाम विवरण आउन बाँकी रहेको बताए । तर घटनास्थलमा रहेका स्थानीय समाजसेवी माधव पौडेलका अनुसार जिप दुर्घटनामा नेपाली सेनाका दुई सैनिक जवानको समेत ज्यान गएको छ ।
घर बिदा आएका त्यस गाउँका अन्दाजी ३५ बर्षिय धन बहादुर दर्लामी र सोही गाउँका अर्का सैनिक जवान उस्तै उमेरका शिवबहादुर दर्लामीको मृत्यु भएको छ । दर्लामीकि श्रीमति शरस्वती दर्लामी घाइते छ्न । सैनिक जवानहरु पल्टनमा हाजिर हुन जाँदै गरेको स्थानीयको भनाइ छ । मृतक दर्लामी र उनका भाइ वसन्त दर्लामीको पनि मृत्यु भएको पौडेलले बतए ।
मृतक ५ जनामध्ये हुला गाउँकै अन्दाजी ६० वर्षीय डम्बर बहादुर हितान र ९२ वर्षीया सुन्दरी नाम गरेकी सुन्दरा थापा रहेको बताइन्छ । उनको घर छापाहिले रहेको र उनी तराइतिर छोरीकोमा बस्ने गरेको र केही दिनअघि हुलास्थित माइती घर आएकी थिइन् ।
जिप चालक बुद्ध बहादुर बस्नेत भने सकुशल छ्न । उनलाई इस्मा प्रहरी चौकीबाट पुगेको प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक कमल हितानको हात भाँचिएको छ । अर्का एक घाइतेको पनि नाम खुलेको छ । हुला गाउँकै फर्श बहादुर थापा घाइते रहेका छन् । स्मरण रहोस् त्यसै हुला गाउँमा गत वर्ष बाग्लुङ्गमा कुल पुजा गर्न हिँडेका १६ जनाको जिप दुर्घटनामा परी ज्यान गएको थियो ।
सांसद तथा पुर्वमन्त्री गोकर्ण बिष्ट आजै गुल्मी आएका छन् । उनी नयाँगाउँ स्थित स्वर्गीय नेकपा नेता बोमबहादुर खड्काको १२ औँ दिनको श्रद्धान्जली सभामा जाने आज कार्यक्रम थियो । दुर्घटनाको खबरले उनी स्तब्ध भएकाे बताइएकाे छ ।