११ देखि १७ वर्षका किशाेरहरूले ६३ वर्षीय हाेटल सञ्चालकको ज्यान लिए
(राेल्पा)११ देखि १७ वर्षका किशाेरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् ।
राेल्पाकाे रुन्टीगढी- २ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनसँग २५ सयकाे बिलकाे विषयमा विवाद हुँदा किशोरहरूले हाेटल सञ्चालककाे हत्या गरी फरार भएका थिए । हत्या भएकाे १२ घण्टापछि जिल्ला प्रहरी कार्यालय राेल्पाबाट परिचालित प्रहरी टाेलीले हत्या अभियोगमा रोल्पामा चार जना किशोरलाइ पक्राउ गरेकाे छ ।
६३ वर्षीय पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै १२ घण्टापछि स्थानीयहरूकाे सहयाेगमा ती किशोरहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेश राज सुवेदीले बताए ।
पक्राउ परेका किशोरहरुमध्ये दुई जना १६ वर्षका, एक जना १७ वर्षका र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक खड्काले भने, ‘कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको बिल २ हजार ५०० भएको सुनाउनेबित्तिकै वृद्धमाथि, ढुङ्गामुढा गर्दै कुटपिट गरेर उनीहरू फरार भएको र अनुसन्धान गर्दै जाँदा घरगोठमा फेला पारेका छाैं ।’ थप अनुसन्धानका लागि कात्तिक १६ गते जिल्ला अदालतबाट म्याद थप गरिएको उनले बताए । पक्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा पनि अशान्तिपूर्ण गतिविधिमा संलग्न हुँदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गरेको छ । पछिलाे समय राेल्पामा अपराधिक गतिविधिमा बालबालिकाहरूकाे संलग्नता बढ्दै गइरहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।