मोबाइल भ्यानबाट स्वाब संकलन गर्दै काठमाडौं महानगर
(काठमाडौं) काठमाडौं महानगरले स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका हुन्।
महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजिटिभ एयर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम, नियन्त्रण र उपचार थप प्रभावकारी बनाउन महानगरपालिकाले मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।
पछिल्लो समय यसलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोवाइल भ्यानमार्फत स्वाब संकलनको काम सुरुवात गरेको शाक्यले जानकारी दिए।
अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक लक्षित गरी भ्यान संचालनमा ल्याइएको हो। उनले त्यस्ता व्यक्तिको स्वाब संकलनमा विशेष प्राथमिकतामा राखेर कार्य अघि बढाउने पनि उनले जानकारी दिए। उनले कन्ट्याक ट्रेसिङमा परेकालाई निशुल्क उपचार गर्ने समेत जानकारी दिए।
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्रप्रसाद ढकालगायत अधिकारीहरु सहभागी थिए।
सवारीमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ ।यो भ्यान सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सञ्चालन गर्नेछ ।