टर्कीको भूकम्पमा मृत्यु हुनेको संख्या ८० पुग्यो
(इस्तानबुल) टर्कीको सीमाक्षेत्रमा गत शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सोमबारसम्म ८० पुगिसकेको छ । अरु ९ सय ६२ जना घाइते भएको बताइएको छ ।
ग्रीससँग सीमा जोडिएको इजमीर क्षेत्रमा गएको ७ म्याग्निच्युडको उक्त भूकम्पबाट ग्रीसमा पनि ठूलो धक्का महसुश भएको थियो । भत्किएका भवनहरुमा अहिले पनि खोजी कार्य भइरहेको छ । यद्यपि क्षतिको पूर्ण विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताए ।
उनीहरुका अनुसार ग्रीसको केही भूभागमा पनि मानिसहरु घाइते भएका छन् । साथै दुबै तर्फ गरी २ सय १९ जनाको अहिले पनि उपचार भइरहेको छ । स्थानीय मिडियाका अनुसार एक हजार भन्दा धेरै पराकम्पहरु गएका छन् । र तीमध्ये ४० भन्दा धेरै पराकम्प ४ म्याग्निच्युड भन्दा बढी शक्तिशाली छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार जनताको नाममा सम्बोधन गर्दै घटनाप्रति दुख व्यक्त गरेका छन् । साथै खोजी तथा उद्धार कार्य भइरहेको पनि जनाए ।