उद्योगीले जारको पानीको मूल्य आफूखुसी बढाए
(काठमाडौं) पिउने पानी उत्पादकहरुको संस्था नेपाल बोटलर्स बाटर एसोसिएसनले एकतर्फी ढंगबाट जारमा भरेको पिउने पानीको मूल्य बढाएको छ । वाणिज्य विभागसँग भएको सहमति भन्दै एसोसिएसनले पानी उत्पादक र वितरकहरुलाई प्रतिजार अधिकतम् खुद्रा बिक्री मूल्य ५० रुपैयाँ बनाउन पत्राचार गरेको हो ।
२० लिटरको जारमा भरिएको पानीको बजारमा यसअघि ब्रान्ड नै पिच्छे फरक-फरक मूल्य थियो । एसोसिएसनको निर्णयपछि काठमाडौं उपत्यका र बनेपामा रहेका १७५ वटा पानी कम्पनीको जारको पिउने पानीको मूल्य प्रतिजार ५० रुपैयाँ पुगेको छ ।
जारको पिउने पानीको मूल्य र गुणस्तरमा मनपरी भएपछि यसलाई समायोजन गरिएको नेपाल बोटलर्स बाटर एसोसिएसनको दाबी छ । वाणिज्य विभागकै रोहबरमा गत साउनमा तोकिएको अधिकतम् मूल्यसम्बन्धी सम्झौतालाई आधार मानेर उत्पादक र वितरकको मूल्य तोकिएको संघका महासचिव दुर्गाबहादुर गौतमले बताए ।
‘मूल्य बढाएको होइन, समायोजन गरेका हौं, खुद्रा पसलेले बढी मूल्य लिएर उपभोक्तालाई पानी बिक्री गरिरहेको हुन सक्छन्,’ एसोसिएसनका महासचिव गौतम भन्छन, ‘उत्पादकबाट २० रुपैयाँमा किनेको एक जार पनि बिचौलियाले ६० रुपैयाँसम्ममा बिक्री गरेको थाहा पाएका छौ । बिचौलिया हटाउन उपभोक्ता मूल्य तोकिएको हो ।’
एसोसिएसनले तोकेको मूल्यले उपभोक्तालाई बढीमा ४० रुपैयाँमा जारको पानी पाउने वातावरण बन्ने भन्दै उनले ५० रुपैयाँ जारमै लिने काम उत्पादकले नगरेको दाबी गरे । गत साउनमा २१ वटा पानी उद्योगको पानीको उत्पादन, गुणस्तर र लागतको आधारमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको अधिकतम् मूल्य निर्धारण गरेको थियो । बजारमा बोटल बन्द एक लिटर पानी २० देखि २५ रुपैयाँ र २० लिटरको जारको पानी २५ देखि ५० रुपैयाँसम्म कारोबार भइरहेको भएपनि दुई वर्षअघिको मूल्य निर्धारण र हालको अवस्थालाई मध्यनजर गरेर भन्दै विभागले नयाँ अधिकतम् मूल्य तोकिदिएको थियो ।
विभागको तत्कालीन निर्णयअनुसार एक लिटर बोटलको पानी १६ रुपैयाँ र जारको पानी अधिकतम् ५० रुपैयाँ तोकिए पनि संसदको उद्योग समितिले विभागको निर्णय तत्काल कार्यन्वयन नर्गन निर्देशन दिएको थियो । पानीको मूल्य निर्धारणबारे आवश्यक अनुसन्धान गरिरहेको समितिले जनाएको छ ।