६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार
कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ । तर सरकारको बेवास्ताका कारण उक्त औषधि नेपालमा कालोबजारीमा विक्री भइरहेको छ । गम्भीर लक्षणसहितका बिरामीको उपचारमा अझै पनि नेपालमा सो औषधिको प्रयोग भइरहेको छ भने संक्रमितको संख्या बढेसँगै कालोबजारीमा विक्री हुन थालेको छ ।
गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई रिम्डेसिभिर औषधि सेवन गराए पनि कतिपयको ज्यान जोगाउन नसकिएको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ । यस औषधिको सेवनपछि बिरामीलाई भेन्टिलेटरमा लैजान नपर्ने, चाँडै निको हुने भनिए पनि पछिल्ला अध्ययनले त्यस्तो नदेखाएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।
कोरोनाभाइरस (कोभिड—१९) संक्रमण भएपछि विगत ६ दिनदेखि नर्भिक अस्पतालको आइसियुमा काठमाडौंका ‘विकास पाण्डे’ (नाम परिवर्तन) उपचाररत छन् । कोरोना संक्रमणका कारण पाण्डेको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले क्लिनिकल ट्रायल भइरहेकोे रेम्डेसिभिर औषधि सेवन गराउने निधो ग-यो ।
सरकारले रेम्डेसिभिर औषधि निजी फार्मेसीहरुलाई खरिदबिक्री गर्ने अनुमति दिए पनि सो औषधि बजारमा नपाएको पाण्डेका आफन्तले गुनासो गरे । केही ठाउँमा रेम्डेसिभिर औषधि पाइए पनि तोकेको मूल्यभन्दा चार गुणा बढी तिरेरमात्रै पाइने उनीहरुको भनाइ छ ।