हैदरावादमा अक्टोबरमा ११७ वर्षकै बढी पानी पर्यो
भारतको हैदरवादमा परेको भीषण वर्षाले १९ दिनको बच्चासहित ८ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसासर मंगलबार राति हैदरावादको बान्डलगुडा क्षेत्रमा दुई घरमाथि खसेको ठूलो चट्टानले लागेर उनीहरूको मृत्यु भएको हो। घटनामा अरू दुई जना घाइते भएका छन् । हैदरावादमा पछिल्लो २४ घन्टामा १९१ मिलिमिटर पानी परेको छ। भारतीय मौसम विभागका अनुसार अक्टोबर महिनामा परेको यो पानी ११७ वर्षकै सबैभन्दा बढी हो ।
केही दिनपहिले बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र सर्दै भारतका विभिन्न राज्यमा फैलिएको छ । सुरूमा आन्द्रप्रदेशमा प्रवेश गरेको न्यून चापीय पछि तेलंगना पुगेको थियो ।
१२ घन्टासम्म यसअघि कहिल्यै नपरेको पानी परेपछि बुधबार हैदरावादमा सार्वजनिक विदा दिइएको छ । भारी वर्षाले हैदरावाद र आसपासका क्षेत्रमा बाढी आएको छ । मानिसको घरभित्र पानी पसेको छ भने सवारी साधन बगाएको छ । कैंयौ ठाउँमा बिजुली अवरूद्ध भएको छ ।
अहिले उक्त प्रणालीको असर महाराष्ट्र र कर्नाटकामा पनि देखिन थालेको छ । यी राज्यका केही भागमा केही घन्टा लगातार भारी वर्षा हुने भारतीय मौसम विभागले जनाएको छ । दक्षिणी भारतमा भइरहेको भारी वर्षाको असर नेपालको मौसममा पर्ला त? मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर हुँदै पश्चिम-उत्तरपश्चिमी दिशातर्फ सर्ने क्रममा रहेको जनाएको छ ।
कमजोर भइरहेको र उत्तर पश्चिमतर्फ गइरहेको भएकाले उक्त प्रणालीका कारण नेपालमा ठूलो वर्षा हुने सम्भावना छैन । तर पहाडी भेगका केही ठाउँमा भने हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।