कोरोना उपचारमा लुम्बिनी सरकारको २० करोड खर्च
कोरोना संक्रमितको उपचारका लागि २० करोड रुपैयाँ विनियोजन गरेको लुम्बिनी प्रदेश सरकारले १२ वटा जिल्लामा जम्मा ७ वटा भेन्टिलेटर थपेको छ।
रुपन्देहीका दुई तथा बाँके र दाङका एक-एक गरी ४ वटा अस्पतालमा ३४ बेडको आइसियू संचालन गरिएको छ।
देशभर लक्षणसहितका तथा गम्भिर अवस्थाका संक्रमित थपिँदै गर्दा आइसोलेसनसँगै आइसियू र भेन्टिलेटर अभाव भइरहेको छ। तर प्रदेश सरकारले आइसियू र भेन्टिलेटर थप गर्ने तर्फ कुनै तयारी गरेको छैन। गत चैत १० गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले बुटवल, भैरहवा, दाङ र नेपालगञ्जका ४ वटा अस्पतालमा भेन्टिलेटर र आइसियू सहितको आइसोलेसन तयार गर्ने निर्णय गरेको थियो।
सोही अनुसार आइसोलेसन अस्पताल निर्माणको लागि बजेट विनियोजन गरिएको थियो। बजेट बिनियोजन भए पनि लकडाउनलाई कारण देखाउँदै भेन्टिलेटर खरिद गरिएन। बुटवल धागो कारखानास्थित आइसोलेसन अस्पताललाई गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सापटीको रुपमा चारवटा भेन्टिलेटर र ८ वटा आइसियू बेड उपलब्ध गराएपछि सेवा शुरु गरिएको थियो।
तर गम्भिर अवस्थाका कोरोना संक्रमित थपिँदै जाँदा समेत आइसियू र भेन्टिलेटर खरिद गर्नेतर्फ अस्पताल र सरकारले समेत चासो दिएका छैनन्।
प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले कोरोना संक्रमणपछि सरकारले चारवटा अस्पतालमा १२ वटा भेन्टिलेटरसहित ३४ बेडको आइसियू संचालन गरेको बताए।