दसैँले ल्याउन सकेन चारपाङ्ग्रे अटो व्यवसायीमा उत्साह, शोरुम अझै सुनसान
दसैँ नजिकिरहँदा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका शोरुमहरू झकिझकाउ देखिने अघिल्ला वर्षहरूभन्दा यस वर्ष शोरुमहरूमा त्यस्तो कुनै रौनक देखिएको छैन । अघिल्ला वर्षहरूमा स्कुटर, मोटरसाइकल र गाडीहरूका बिक्रेता कम्पनीले आकर्षक छुटमा सवारीसाधन बिक्री गर्ने हुनाले ७० प्रतिशत ग्राहकले सवारी किन्न दसैँ नै पर्खिने गर्दथे ।
यस पटक दसैँ नजिकिइसक्दासमेत शोरुमहरूमा नयाँ सवारी किन्न आउने ग्राहक खासै देखिएका छैनन् । वर्ष दिनको कमाइ दसैँ र तिहारबाटै उठाउने अटो व्यवसायीहरू यतिबेला सामान्य दिनको जति पनि सवारी बिक्री गर्न सकेका छैनन् ।
दसैँको अवसरमा मात्रै करिब ५ अर्ब रुपैयाँको कारोबार गर्ने अटो व्यवसाय दसैँ नजिकिइसक्दासमेत सुस्त नै देखिएको छ ।
सुजुकी ब्राण्डका चारपाङ्ग्रे सवारी बिक्री गर्दै आएका व्यवसायी तथा नाडा अटोमोबाइल एसोसिएसनका सचिव अनुप बरालले दसैँमा नयाँ सवारी किन्ने ग्राहकभन्दा पुराना थन्क्याइएका सवारी बनाउन आउने ग्राहक बढेको बताए ।
यस वर्ष चारपाङ्ग्रे सवारीसाधनप्रति ग्राहकको आकर्षण बढाउन बिक्रेता कम्पनीहरूले खरिदमा भारी मात्रामा छुटदेखि लक्की ड्र र स्क्र्याच कुपनमार्फत १ देखि १० लाखसम्म रकम जित्न सकिने अफरहरू सार्वजनिक गरिसकेका छन् । तैपनि अधिकांश चारपाङ्ग्रे सवारी बिक्रेता कम्पनीहरूले ग्राहक पाउन सकेका छैनन् ।