भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्टसहित तीन चिकित्सकलाई कोरोना संक्रमण
(चितवन) भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारी, स्त्री राेग तथा प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पाेखरेलसहित तीन चिकित्सक र अन्य एक स्वास्थ्यकर्मीमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा काम गर्ने नर्सलाई संक्रमण भएको थियो । संक्रमित डा. तिवारी अस्पतालकै आइसोलेसन वार्डमा बसेका छन् ।
प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल पनि अस्पतालकै क्याविनमा बस्ने छन् । प्रा.डा. पोखरेललाई भने हल्का ज्वरो र सामान्य खोकी लागिरहेको छ ।
डा. पोखरेललाई संक्रमण पुष्टि भएपछि प्रसूति विभागको टिमसमेत आइसोलेसनमा जानुपर्ने हुँदा प्रसूति गराउने महिलाहरुलाई समस्या हुने देखिएको छ । डाक्टरहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्क ट्रेसिङ गर्ने जनाइएको छ ।