सम्पर्कमा आएका पाँच जना प्रहरी पनि संक्रमित
मनमैंजुमा हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत साउन ३० गते राति मनमैंजुको एक खाजा घरमा विवाद हुँदा ती व्यक्तिले नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या गरेका थिए। उनले तामाङमाथि चक्कु प्रहार गरी घाइते बनाएका थिए भने अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।प्रहरीले उनलाई हत्या भएको २४ घण्टा नबित्दै माछापोखरीस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो।
उनको कोरोना परीक्षण गर्दा गत शुक्रबार संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका पाँच जना प्रहरीमा पनि संक्रमण देखिएको छ।
'उनीसँगै सम्पर्कमा आएका अन्य पाँच जना प्रहरीमा पनि संक्रमण देखिएको छ,'उनले भने,'अहिले सबैलाई उपचारको लागि विभिन्न आइसोलेसनका पठाइएको छ।'
उनलाई महाराजगञ्ज वृत्तमा राखिएको थियो।