रुपन्देहीमा आयल निगमका १४ कर्मचारीमा कोरोना पुष्टि
(तिलोत्तमा) रुपन्देहीमा नेपाल आयल निगमका १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार आएको स्वाब परीक्षण रिपोर्टअनुसार आयल निगम भलवारीका ३, भैरहवा पेट्रोल पम्पका ३ र विमानस्थलस्थित हवाई ईन्धन डिपोका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपाल आयल निगम प्रादेशिक कार्यालय प्रदेश ५ का प्रमुख इन्जिनियर सुरज शाहले बताए ।
केही दिनअघि विमानस्थल डिपोका ४ जना कर्मचारीलाई रुघाखोकी लागेर पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएपछि निगमले जिल्लामा रहेका ३ वटै डिपोका कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो । त्यसरी पठाइएकामा भलबारी डिपोका ४० मध्ये ३, भैरहवा पेट्रोल पम्पका २२ मध्ये ३ र विमानस्थलका १६ मध्ये थप ४ जनामा संक्रमण पुष्टि भएको हो । शाहका अनुसार अन्यको नतिजा आउन बाँकी छ ।
विमानस्थल नचलेको भएर त्यहाँको डिपो बन्द गरिएको छ भने भैरहवाको पेट्रोल पम्प आइतबार बिहानबाट बन्द गरिएको आयल निगम भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले बताए ।
भलवारी डिपो बन्द गर्ने या सेनिटाइज गरी वैकल्पिक कर्मचारी राखेर संचालन गर्ने भन्नेबारे केन्द्रमा पत्राचार गरिसकिएको र निर्देशन पर्खिएको उनले बताए । अत्यावश्यक कार्यालय भएकाले केन्द्रको निर्देशनबिना के गर्ने भनी निर्णय नगरिएको ज्ञवालीले बताए ।