मलामी गएका सबै क्वारेन्टिनमा
सिराहामा मृत्युपछि एक जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।
भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरूषमा हिजो राति कोरोना संक्रमण पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कँणेलले जानकारी दिए। प्रजिअ कँणेलका अनुसार उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए। गाउँमै उनको भदौ २ गते स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो।
उनको पिसिआर रिपोर्ट नआउँदै भदौ ३ गते उनको मृत्यु भएको सिडिओ कँणेलले सेतोपाटीलाई बताए।
रिपोर्ट नआउँदै शवलाई परिवारको जिम्मा लगाइएको थियो। उनमा कोरोना संक्रमण पुष्टि भएपछि मलामी गएका २० जनालाई अहिले क्वारेन्टिनमा राखिएको सिडिओ कँणेलले जानकारी दिए।
क्वारेन्टिनमा बसेकाहरूको पाँच दिनपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने उनले जनाए।
‘मधुमेह र हाई ब्लडप्रेसरका बिरामी थिए, तर पनि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो रिपोर्ट नआउँदै उनको शव लापरबाही ढंगले परिवारलाई बुझाइयो, अहिले मलामी गएका सबैको कन्ट्याक्ट ट्रेसिङमार्फत् क्वारेन्टिनमा राखिएको छ,’ उनले भने, ‘पाँच दिनपछि तिनीहरूको स्वाब टेष्ट गरिन्छ।’
सिराहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ।