पर्सामा बाढीले धानबालीमा क्षति
(वीरगञ्ज) अविरल वर्षाका कारण पर्साको ओरिया खोलामा बाढी आउँदा धान र तरकारी बालीमा क्षति पुर्याउनुको साथै जमिन कटान गरेको छ । पिडारीगुठी क्षेत्रमा ३ बिघा भन्दा बढी धान र तरकारी बालीमा क्षति पुगेको हो भने ६ कठ्ठा जमिन कटान गरेको स्थानीयले बताएका छन् ।
स्थानीय अनुप रायको १ बिघा १ कठ्ठा, भिखारी महतोको १ बिघा, प्रजापतिदेवीको ८ कठ्ठा, रामेश्वर महतो र सुरजदेवको ५/५ कठ्ठा र रामायण महतोको १ कठ्ठामा लगाएको धानबालीमा बाढी पसेर क्षति पुगेको छ ।
त्यसैगरी हिरामन महतोको ३ कठ्ठामा लगाएको घिरौंला, भिण्डीबाली र शिव महतोको ६ कठ्ठाको भिण्डीबाली नष्ट भएको छ ।