भारतमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढीमा कोरोना, ६८१ को मृत्यु
(काठमाडौँ) भारतमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ४० हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ६ सय ८१ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ४ सय ९७ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब ७ लाख निको भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना महामारीबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । सोमबार बिहानसम्म महाराष्ट्रमा संक्रमितको संख्या ३ लाख १० हजार ४ सय ५५ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म ११ हजार ८ सय ५४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने करिब एक लाख ७० हजार निको भएका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेको तमिलनाडुमा संक्रमितको संख्या एक लाख ७० हजार नाघेको छ । तमिलनाडुमा कोरोनाबाट २ हजार ४ सय ८१ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजारभन्दा बढी निको भएका छन् । राजधानी दिल्ली संक्रमणका हिसाबले तेस्रो स्थानमा रहेको छ । दिल्लीमा सोमबार बिहानसम्म संक्रमितको संख्या एक लाख २२ हजार ७ सय ९३ रहेको छ । दिल्लीमा कोरोनाबाट ३ हजार ६ सय २८ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये एक लाख ३ हजारभन्दा बढी निको भएका छन् ।
गत वर्षको डिसेम्बरमा चीन वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर एक करोड ४४ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै विश्वका विभिन्न मुलुकमा गरी ६ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या झन्डै ८१ लाख रहेको छ ।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३७ लाख ७३ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजारभन्दा बढी पुगेको छ । त्यस्तै करिब ११ लाख ३१ हजारभन्दा बढी निको भएका छन् ।