टुनबर्गको कोरोना नियन्त्रणको लागि एक लाख युरो सहयोग गर्ने घोषणा
(काठमाडौं) पर्यावरण संरक्षण अभियान्ता ग्रेटा टुनबर्गले अमेजन क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सहयोगका लागि एक लाख युरो सहयोग गर्ने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सोमबार यस्तो घोषणा गरेकी हुन् ।
मानवताको लागि दिइएको १० लाख युरोको गुल्बेन्कियान पुरस्कार प्रदान गरिएसँगै किशोरी अभियान्ताले यस्तो घोषणा गरेकी हुन् । सोही पुरस्कारको रकमबाट उनले एक लाख युरो कोरोना भाइरस नियन्त्रणको लागि प्रदान गर्न लागेकी हुन् । टुनबर्गले एसओएस अमेजनियामार्फत् यो सहयोग गर्न लागेकी हुन् । यो संगठनले कोरोना भाइरस नियन्त्रणको लागि अमेजन क्षेत्रमा काम गरिरहेको छ ।
टुनबर्गले आफूले पाएको पुरस्कारको सबै रकम विभिन्न संस्थाहरुमार्फत् दान गर्न सक्ने बताएकी छिन् । तर, अहिलेसम्म के प्रयोजनको लागि कुन संस्थालाई दान दिने हो भन्ने खुलाइएको छैन । उनले यो सबै रकम पर्यावरण र पर्यावरणीय विश्वलाई बचाउन भइरहेका कामका लागि उक्त रकम दान गरिने उनले बताएकी छिन् ।