भरतपुर महानगरको बजेट सवा ४ अर्ब, क्रिकेट रंगशाला बनाउन साझेदारी कोष
(चितवन) भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल ४ अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् ।
यो चालु आव २०७६/७७ को तुलनामा केही कम हो । चालु आवमा सरकारले ४ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । महानगरले कोभिड–१९ संक्रमितको उपचारसँगै क्वारेन्टिन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई स्थानीय स्तरमै रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ ।
यसका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्ने बजेटमा उल्लेख छ । बजेटले राखेका उद्देश्य तथा प्राथमिकता कार्यान्वयनमा संघ र प्रदेश सरकार तथा छिमेकी स्थानीय तहसँग समेत सहकार्य गरिने उपप्रमुख शाहले बताइन् ।