खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन
प्रदेश नम्बर १ को सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।
केही समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित अध्यक्ष शेर्पाको मंगलबार बिहान निधन भएको हो। ‘आज बिहान ८:३० बजे वडा नम्बर २ स्थित आफ्नै निवासमा अध्यक्षज्यूको निधन भएको हो,’ गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पाले सेतोपाटीसँग भनिन्। ३९ वर्षीय अध्यक्ष शेर्पा हालै काठमाडौंस्थित ह्याम्सलगायत अस्पतालमा उपचार गरेर गाउँ फर्केका थिए। ‘उहाँ उपचार गरेर घर फर्किनुभएको थियो। स्वास्थ्यमा समस्या भएपछि उहाँले मलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिनुभएको छ,’ उनले भनिन्।
अध्यक्ष शेर्पा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेवार बनेर विजयी भएका थिए।