आज बुद्ध जयन्ती, घर–घरमा दीपावली गर्न सरकारको आह्वान
आज वैशाख पूर्णिमा अर्थात् २५६४ औं बुद्ध जयन्ती।
भगवान गौतम बुद्धको जन्म भएको आजको दिनलाई बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीका रूपमा मनाउँछन्। ईपू ५६३मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो। बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिरलगायत देशभरका बौद्ध विहार तथा गुम्बाहरूमा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने प्रचलन रहँदै आएको छ।
यस वर्ष भने कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी रूपमा गरिएको लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम गरिएको छैन। काठमाडौंको स्वयम्भू पनि सुनसान देखिन्छ। यहाँ बुद्ध जयन्तीमा हुने पूजापाठ गरिए पनि कुनै पनि भक्तालुहरू देखिँदैनन।
सरकारले बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ। यस्तै बुद्ध जयन्ती समारोह समितिले पनि घरमै बसेर बुद्ध जयन्ती मानाउन आग्रह गरेको छ।
यसबीच २५६४ औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेश र मार्गदर्शनको परिपालनाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेकी छन्।
उनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढन उत्साह उमंग र प्रेरणा प्रदान गर्ने अपेक्षा समेत गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरू अझ बढी सन्दर्भिक भइरहेको बताउँदै शुभकामना व्यक्त गरेका छन्।