नेपाल आएका ९ जना पाकिस्तानीलाई मस्जीदभित्रै क्वारेन्टाइनमा राखियो
(रौतहट) धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको छ ।
पाकिस्तानी टोलीलाई नियन्त्रणमा लिएर रौतहटको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको मस्जिदभित्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई उनीहरु बसेकै मस्जीदमा क्वारेन्टाइनमा राखिएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने, ‘उनीहरु नेपालमा लकडाउन सुरु हुनुअघि नै आएका थिए । हामीले मस्जीदभित्रै राखेर निगरानी गरिरहेका छौं ।’
चैत ४ गते यमुनामाई गाउँपालिका वडानम्बर १ मा रहेको मुख्तम मस्जीद इदगाहमा तीन दिनसम्म बसेका उनीहरु ७ गते करुनिया गएका थिए । लकडाउन पछि उनीहरु सोही मस्जीदमा छन् ।
कोविड १९ (कोरोना) संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेर वैदेशिक मुलुकबाट फर्कनेहरुलाई विभिन्न स्थानका निर्माण गरिएका क्वारेन्टाइनमा राखिए पनि पाकिस्तानीहरुलाई मस्जीदमै राखिएको छ । उनीहरुको गतिविधिलाई निगरानी गरिरहेको र लकडाउनभन्दा पहिले नै नेपाल आएकाले क्वारेन्टाइन केन्द्रहरुमा नराखिएको सुरक्षा स्रोतले बतायो ।