गोल्यान ग्रुप दैनिक १ हजार पिपिई बनाउँदै
व्यवसायिक घराना गोल्यान ग्रुपले पर्सलन प्रोटेक्सन इक्वीप्मेन्ट पिपिई बनाउन शुरू गरेको छ। विराटनगरमा भएको स्वेटर फ्याक्ट्रीमा पिपिई बनाउन सुरू गरेको हो।
पिपिई अन्तर्गत गाउन र जुत्ता बनाउन थालिएको गार्मेन्ट उद्योगका प्रबन्ध निर्देशक शक्ति गोल्यानले जानकारी दिए। उनका अनुसार गाउन तथा जुत्ताका लागि चाहिने फ्याब्रिक पनि उद्योग आफैले उत्पादन गरेको छ।
कोरोनाका लागि प्रत्येक्ष रूपमा(स्वाथ्यकर्मी तथा सुरक्षकर्मी) काम गर्नेलाई लक्षित गरी पिपिई उत्पादन गरिएको छ। पिपिई प्रयोग गर्ने सरोकारवालाई देखाएर उत्पादन फाइनल गरिएको गोल्यान बताउँछन्। ‘हामीले उत्पादन बनाएर एक्सपर्टलाई देखायौं, उनीहरूको सल्लाहअनुसार मोडिफाई गरेर हिजो फाइनल गरेका छौं, उत्पादन हिजैबाट सुरू हुन थालिसक्यो,’ उनले भने।
ग्रुपले गाउन र जुत्ता मात्र बनाए पनि सेट नै बेचिरहेको छ। गाउन र जुत्ता मात्र भन्दा पनि सेटकै माग आएकाले ग्लोब, मास्क, फेस सिल्ड लगायतका वस्तु किनेर बेचिरहेको गोल्यानले जानकारी दिए। बजारमा भएका पिपिईभन्दा गोल्यान ग्रुपले उत्पादन गरेको पिपिई गुणस्तरीय र सस्तो भएको उनले दाबी गरे।
‘बजारमा भएको पिपिईमा कस्तो प्रकारको फ्याब्रिक प्रयोग गरिएको छ थाहा छैन, हामी आफैले गुणस्तरीय फ्याब्रिक बनाएर पिपिईमा बनाएका छौं,’ उनले भने। फूल सेट पिपिई(गाउन, फेस सिल्ड, पञ्जा, जुत्ता) को साढे १७ सय तोकिएको छ।
‘लागत मूल्यमै दिइरहेका छौं। भन्ने नै हो भने यो पनि सिएसआर अन्तर्गत नै रहेको छ,’ उनले भने।
कम्पनीले दैनिक १ हजार पिस बनाउने भएको छ। माग बढे थप उत्पादन बढाउन सकिने उनले बताए। उनकाअनुसार फ्याक्ट्रीमा २५ जनाभन्दा बढीको कामदारको अनुमति नदिएकाले सोही मात्रामा कामदार राखिएको छ। पिपिईको मेडिकल तथा सुरक्षाकर्मीबाट माग आइरहेको छ। बंगलादेश, पाकिस्तानबाट पनि गोल्यान ग्रुपले उत्पादन गरेको पिपिईमा चासो देखाएका छन्। नेपालका लागि पर्याप्त भएपछि विदेश पनि निर्यात गर्ने योजना बनाएको गोल्यानले बताए।
आवश्यक कच्चा पदार्थ भने ठाउँठाउँबाट ल्याउन परेको उनले गुनासो गरे। पिपिई उत्पादनमा गोल्यान ग्रुपलाई शिवम् प्लाष्टिकले सघाएको छ।