तिनाउमा डुबेर एक बेपत्ता
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ तिनाउ नदीमा डुबेर एकजना वेपत्ता भएका छन्।
बुटवल पावर हाउसको ड्याम साइटमा पौडी खेल्ने क्रममा: डुबेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवाडीका २१ वर्षीय प्रदीप रोका वेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीका अनुसार पौडी खेल्दै ड्याम साइट छिरेका प्रदीप वेपत्ता भएका हुन्। उनीसँगै पौडी खेलेका दुई जनाले बेपत्ता प्रदीपलाई खोजे पनि नभेटेपछि ढिलो गरी प्रहरीलाई खबर गरेका थिए। शनिबार दिउँसो ३ बजेतिर उक्त घटना भएपनि प्रहरीलाई ५ बजे मात्र सूचना आएको थियो। प्रदीपसँगै पौडी खेल्न १७ वर्षीय सुमन सारु, १५ वर्षीय सुमित चौधरी तिनाउ नदी ड्याम साइट पुगेका थिए।
रोका वेपत्ता परेको खबर पाएलगत्तै दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तिको नेतृत्वमा प्रहरी खटिएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।