बाइडनको साउथ क्यारोलाइनामा जित
(साउथ क्यारोलाइना) साउथ क्यारोलाइनामा भएको डेमोक्र्याटिक प्राइमरीमा पूर्वउपराष्ट्रपति जो बाइडनले जितेका छन् । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्र्याटिक दलका तर्फबाट आधिकारिक उम्मेदवार छान्न साउथ क्यारोलाइनामा भएको प्राइमरीमा बाइडनले जित निकालेका हुन् ।
यसअघि आयोवा, न्यु ह्याम्पसायर र नेभादाका प्राइमरीमा बाइडन कमजोर देखिएका थिए । केही दिनअघिसम्म सञ्चार माध्यम र राजनीतिक विश्लेषकले आफ्नो उम्मेदवारी अन्त्य भएको घोषणा गरेको स्मरण गर्दै ७७ वर्षीय बाइडनले जितपछिको सम्बोधनमा साउथ क्यारोलाइनाको मत हेर्न भनेका छन् । ‘डेमोक्र्याटिक दलका मुटुहरू सबैलाई धन्यवाद । हामीले विशाल जित हासिल गरेका छौं,’ समर्थकलाई सम्बोधन गर्दै उनले भने । यसअघि तीन राज्यमा भएका प्राइमरीमा अपेक्षाकृत मत प्राप्त नगरे पनि साउथ क्यारोलाइनामा उत्कृष्ट नतिजा आउनेमा उनी विश्वस्त देखिन्थे ।
कुल मतदानको ४८.४ प्रतिशत मत प्राप्त गरेका बाइडनलाई १९.९ प्रतिशत मतसहित बर्नी स्यान्डर्सले पछ्याए । ११.३ प्रतिशत मतसहित तेस्रो स्थानमा टम स्टयर आए । हालसम्म भएका चारवटा प्राइमरीमा स्टयरको यो उत्कृष्ट प्रस्तुति भए पनि अब उनले आफ्नो निर्वाचन अभियानको अन्त्य गर्नेछन् र डेमोक्र्याटिक दलको आधिकारिक उम्मेदवार बन्ने दौडमा सात प्रत्याशी मात्रै बाँकी रहनेछन् । हालसम्मका चारवटै प्राइमरीका मत जोड्दा स्यान्डर्स पहिलो स्थानमा छन् । अब १४ राज्यको एकै पटक मतदान हुनेछ । ‘सुपर ट्युजडे’ भनिने उक्त निर्वाचन मार्च ३ का लागि तय भएको छ । सोही निर्वाचनबाट रिपब्लिकन उम्मेदवार ट्रम्पविरुद्धको आधिकारिक डेमोक्र्याटिक उम्मेदवार प्रस्ट हुनेछ ।
ककस वा प्राइमरी भनिने आन्तरिक मतमार्फत उम्मेदवारले डेलिगेट्स प्राप्त गर्छन् । साउथ क्यारोलाइनामा १५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले डेलिगेट्स प्राप्त गरेका छन् । आयोवा, न्यु ह्याम्पसायर, नेभादा र साउथ क्यारोलाइनासहित ‘सुपर ट्युजडे’ बाट छानिएका डेलिगेट्स आफ्ना डेमोक्र्याटिक उम्मेदवार छान्न जुलाईमा हुने पार्टीको सम्मेलनमा सहभागी हुनेछन् । उक्त पार्टी सम्मेलनले नै पार्टीको आधिकारिक उम्मेदवार छनोट गर्नेछ ।
उम्मेदवार छान्नका लागि ‘सुपर ट्युजडे’ महत्त्वपूर्ण दिन हो । विदेशमा रहेका डेमोक्र्याटसहित १४ राज्यका पार्टी समर्थकले मतदान गर्ने ‘सुपर ट्युजडे’ बाट एक हजार तीन सय ५७ जना डेलिगेट्स बाँडिनेछन् । त्यसपछि अग्रपंक्तिमा रहेका स्यान्डर्स वा बाइडन वा बाँकी रहेका अन्य पाँच जनामध्ये जोसुकै डेमोक्र्याटिक दलको आधिकारिक उम्मेदवार बन्न सक्छन् । रोचक विषय त के छ भने ‘सुपर ट्युजडे’ बाटै न्युयोर्कका अर्बपति माइकल ब्लुमबर्ग पनि डेमोक्र्याटिक राष्ट्रपतीय प्रत्याशीको मैदानमा उत्रिँदै छन् ।