संसदमा कोरोना छलफल: हिउँ र पशुपतिनाथले नेपालमा अहिलेसम्म कोरोना रोकेका छन्
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउनु पर्ने बताएका छन्।
सीमा क्षेत्र र विमानस्थलमा उच्च सतर्कता अपनाउन नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना पनि गरे। सांसद छक्कबहादुर लामाले चीन जोड्ने नाका रसुवा र तातोपानीमा पनि भरपर्दो हेल्प डेस्क नभएको बताए। उनले ती नाकामा हिउँ नै कोरोनाभाइरसका क्वारेन्टाइन भएको व्यंग्य गरे।
‘तातोपानी र रसुवामा भरपर्दो हेल्प डेस्क छैन। चीन जोड्ने नाकामा हिउँ नै क्वारेनटाइन जस्तो छ। हिउँ बिलाउनेबित्तिकै समस्या देखिन सक्छ, समयमै सरकारले ध्यान दियोस्,’ उनले भने।
शुन्य समयमा बोलेका अर्का सांसद जीवनराम श्रेष्ठले कोरोना संक्रमणबाट जोगिन सरकारले चालेका कदम पर्याप्त नभएको बताए।
‘कोरोना भाइरस रोक्न पशुपतिनाथले मात्रै कल्याण गरेको छ। सरकारले केही कदम चालेको छ भने त्यो स्वागतयोग्य छ। तर सरकारका कदम पर्याप्त भने छैन,’ उनले भने।
सांसद उमा रेग्मीले विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना संक्रमणको उच्च जोखिममा राखेकोले सतर्कता अपनाउनुपर्ने बताइन्।
‘अन्टार्टिकाबाहेक अन्यत्र कोरोना फैलिसकेको छ,’ उनले भनिन्।
विमानस्थलदेखि छिमेकी देशहरूका सीमा क्षेत्रमा भरपर्दो हेल्पडेस्क स्थापना गरिनुपर्ने उनले बताइन्।
‘बरू नाका बन्द गर्न परे पनि गरौं, अरू देशले त नाका बन्द पनि गरेका छन्। आवतजावत बन्द गर्नुपर्यो,’ उनले भनिन्। सांसद कुमारी तुलसी थापाले नेपालमा कोरोना संक्रमित भित्रिए भने स्थिति भयावह हुने बताइन्। उनले विमान र सीमा क्षेत्र भएर नेपाल प्रवेश गर्नेलाई अनिवार्य फर्म भराउनुपर्ने माग गरिन्।
सांसद कृष्णभक्त पोखरेलले कोरोना संक्रमण विश्वव्यापी चुनौतीका रूपमा देखिएको उल्लेख गरे। नेपाल पनि उच्च जोखिममा रहेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ र प्रभावित देशमा उडान स्थगित गर्न सरकारसँग माग गरे।
‘औषधी, ल्याव र जनचेतनाका कार्यक्रम अहिलेदेखि नै गर्नुपर्छ। विभिन्न ठाउँमा उपचार केन्द्रहरू स्थापना गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
अर्की सांसद जुलीकुमारी महतोले पनि कोरोनाले आक्रान्त मच्चाएकोले तत्काल उच्च सतर्कता अपनाउनु पर्ने बताइन्।