मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते
(पाल्पा) पाल्पाको तानसेन नगरपालिका–सात लामिडाँडामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको ज्यान गएको छ, भने एक जना घाइते भएका छन् ।
तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको लु २ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिँदा ५५ वर्षीया मधु श्रेष्ठको ज्यान गएको हो । त्यस्तै, मृतक श्रेष्ठकी श्रीमान घाइते भएका हुन् । प्रहरी उपरीक्षक दीपेन्द्र जीसीका अनुसार दुर्घटनापछि घाइते श्रेष्ठ दम्पतीलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा श्रीमती मधुको बाटोमै ज्यान गएको हो ।
प्रहरीका अनुसार घाइते (श्रीमान) श्रेष्ठको भने लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पृथ्वी काफ्लेका अनुसार ठक्कर दिने ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडकखण्डमा अत्याधिक ट्रिपर चल्ने भएकाले उक्त सडकलाई मृत्युमार्गको रुपमा चिनिन्छ ।