कोरोनाविरुद्ध लड्न सेनाका २४ सय स्वास्थ्यकर्मी तयार, ब्यारेकैपिच्छे रेस्पोन्स टिम
नेपाली सेनाले कोरोना संक्रमण फैलिए आफ्ना सबै स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ। सेनासँग करिब २ हजार ४ सय जना स्वास्थ्यकर्मी छन्।
सेनाका हरेक युनिटले आपतकालीन अवस्थाका लागि अभ्यास पनि थालेका छन्।
सेनाले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको ठहर गरी तयारीको स्तर बढाएको हो। फौज तथा नागरिकको उपचारका लागि सेनाले छुट्टाछुट्टै कार्ययोजना बनाइसकेको छ। कार्ययोजना तयार गर्न सेनाले कार्यदल नै गठन गरेको थियो। सो कार्यदलले तत्काल गर्नुपर्ने र जोखिम थपिंदै जाँदा गर्नु पर्ने कामको योजना तयार पारेको छ।
एक सय ८१ जना चिकित्सकको टोलीलाई जंगी अड्डामा क्वारेन्टाइन बनाएर कोरानाको उपचार विधिका बारेमा सेनाले अभ्यास गराइसकेको छ। अरु स्वास्थ्यकर्मीलाई पनि क्रमैसँग अभ्यास गराइने प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। सबै सैन्य अस्पताल तथा फिल्ड एम्बुलेन्स, गुल्म र पृतना जीओपीडीहरुमा इमर्जेन्सी मेडिकल रेस्पोन्स टिम तयारी अवस्थामा राखिने भएको छ। स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीको जोहो पनि सेनाले गरिरहेको छ।
आफ्नो क्षेत्रमा हुन सक्ने खतरा र त्यहाँ रहेका गुल्म, पृतनाले गर्न सक्ने कामको योजना पनि पेस गर्न सेनाले मातहतका युनिटलाई आदेश दिएको छ। कोरोना संक्रमणबाट बच्न फौजलाई आवश्यक तालिम गराउन थालिएको र त्यससम्बन्धी परिपत्र गरिसकेको छ।