ग्रिसले हजारौं आप्रवासी रोक्यो
(एथेन्स) टर्की हुँदै ग्रिस प्रवेश गर्न चाहने झन्डै १० हजार आप्रवासी रोकिएका छन् ।गैरकानुनी रूपमा ग्रिस प्रवेश गर्न खोज्ने झन्डै नौ हजार नौ सय ७२ आप्रवासीलाई टर्कीसँग सीमा जोडिएको एभरोस क्षेत्रतर्फै फर्काइएको ग्रिक अधिकारीले जनाएका छन् ।
ग्रिक सेना र प्रहरीले आफ्नो भूमिमा प्रवेश गर्न चाहने हजारौं शरणार्थीलाई सीमामै रोकेको र ७३ जना आप्रवासी पक्राउ परेको ग्रिसका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
आइतबार बिहानै कास्टानिज वन क्षेत्रको बाटो हुँदै आप्रवासीको ठूलो समूह ग्रिस प्रवेश गर्न खोजेको थियो । टर्कीका राष्ट्रपति रेसेप तैयैप एर्दोगानले गत साता युरोपतर्फको सीमा खुला गरिने बताएसँगै हजारौं आप्रवासी ग्रिस र टर्कीको सीमा क्षेत्रमा आइपुगेका थिए । उनले सिरियाली द्वन्द्व समाधानका लागि युरोप प्रवेशद्वार खुला गर्ने चेतावनी दिएका थिए ।