चीन : कोरोना भाइरस उच्च विन्दु पार गरेर घट्दो क्रममा छ
चीनले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहेको बताएको छ।
बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले संक्रमणको उच्च विन्दु पार गरेर अहिले घटिरहेको बताए।
नयाँ संक्रमित बिरामीहरू घट्दै गएपछि प्रवक्ता फेङले जोखिम कम भएको दाबी गरेका छन्। कोरोना भाइरसको उदगम थलो हुबेई प्रान्तको वुहान सहरमा बुधबार आठ जनामा मात्र नयाँ संक्रमण देखिएको थियो। हुबेई प्रान्तबाहिर सात जनामा कोरोना भेटिएको थियो। उनीहरू मध्ये पनि ६ जना बाहिरबाट आएकाहरू हुन्।
एक करोड १० लाख मानिसको बसोबास भएको वुहान सहर जनवरी २३ देखि सरकारले ‘लक डाउन’ गरिदिएको थियो।
नयाँ बिरामी आउने क्रम स्वाट्टै घटेपछि रातारात बनाइएका आपतकालीन अस्पतालहरू पनि बन्द गरिएका छन्। यद्यपी अधिकारीहरूले अझै पनि महामारी फर्किन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
डिसेम्बर अन्तिम सातादेखि देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म ८० हजार ७ सय ९३ जना संक्रमित भएका थिए भने ३ हजार १ सय ६९ जनाले ज्यान गुमाए।
६२ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन्।