कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता
(काठमाडौं) चीनले नियन्त्रणमा आउँदै गरेको दाबी गरेको कोरोना भाइरसको संक्रमण कोरियादेखि यूरोपसम्म पुगेको छ । नेपाली युवाको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालीहरुमा चिन्ता बढेको छ ।
शनिबार कतारमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यसअघि मलेसियासहित मध्यपूर्वी एसियाली देश यूएई, कुवेत, लेबनान, ओमान र बहराइनमा कोरोना भाइरसका संक्रमितहरु भेटिइसकेका छन् ।
चीन, जापान र कोरियापछि नेपाली कामदार बाहुल्य देशहरुमा कोरोना भाइरस देखिने र संक्रमण फैलिने क्रम तीव्र भएको छ । मध्यपूर्वी देश इरान र युरोपियन मुलुक इटाली पनि कोरोनाबाट प्रभावित बनेका छन् । करिब ४० लाख नेपाली विभिन्न मुलुकमा श्रम गरिरहेका छन् । कोरोनाले वैदेशिक रोजगार गन्तव्य मुलुकहरु प्रभावित हुने भएपछि त्यहाँ रहेका नेपालीहरुले अप्ठेरो अवस्था सामना गर्नुपर्ने चिन्ता बढेको छ ।
चीनबाट १७५ जना विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राख्न सकस भोगेको नेपाल सरकारलाई खाडी मुलुकबाट कामदार ल्याउन र प्रक्रिया पूरा गर्न परेमा फलामको चिउरा चपाउनुसरह हुनेछ
अहिलेसम्म दक्षिण कोरियामा ३ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको छ । १८ जनाको मृत्यु भइसकेको छ । यो मुलुकमा ४४ हजारभन्दा बढी नेपालीहरु कार्यरत छन् । यद्यपि अहिलेसम्म नेपालीहरुमा कोरोना संक्रमण भएको छैन । खाडी मुलुक इरानमा ५९३ जनामा संक्रमण हुँदा ४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा १ हजार १२८ जना संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ । जापानमा २४५ जनामा संक्रमण भेटिएको छ र ५ जनाको मृत्यु भएको छ ।
सिंगापुरमा १०२, फ्रान्समा १००, हङकङमा ९५, अमेरिकामा ६२, स्पेनमा ४६, कुवेतमा ४५, थाइल्यान्डमा ४२, बहराइनमा ३८, मलेसियामा २५, अष्ट्रेलियामा २४, बेलायतमा २३, यूएईमा १९, क्यानडामा १४, इराकमा १३, मकाउमा १०, लेबनानमा ७, नर्वे तथा ओमानमा ६/६, इजरायलमा ५, भारतमा ३ र कतारमा १ जनामा कोरोना संक्रमण भेटिएको छ । यी देशहरु नेपाली कामदार तथा विद्यार्थीहरु रहेका मुलुक हुन् ।