कोरोना संक्रमणबाट बच्ने सन्देश, जर्मन चान्सलर र गृहमन्त्रीले हात मिलाएनन्
(बर्लिन) जर्मनीको राजधानी बर्लिनमा आप्रवासनबारे छलफल गर्न बैठक आयोजना गरिएको थियो । सोमबारको बैठकका लागि सहभागीहरू सबै आइपुगेका थिए । जर्मन चान्सलर एन्जेला मर्केल बैठक कक्षमा प्रवेश गरेलगत्तै उनले गृहमन्त्री हर्स्ट सिहोफरसँग हात मिलाउन खोजिन्, तर सिहोफरले हात मिलाउन अस्वीकार गरे ।
गृहमन्त्रीले चान्सलरसँग हात मिलाउन नमानेपछि एकछिन् बैठक कक्षमा हाँसो चल्यो । मर्केल पनि मुस्कुराइन् र हात मिलाउन नखोज्नु अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिइन् ।सिहोफरले चान्सलरसँग रिसाएर वा असन्तुष्टि पोख्न हात नमिलाएका भने होइनन् । उनले त विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न हात मिलाउन अस्वीकार गरेका थिए । बैठकअघि नै गृहमन्त्री सिहोफरले कोभिड–१९ को प्रकोपसँगै आफूले हात मिलाउन छोडेको पत्रकारसमक्ष बताएका थिए ।
उनको यस कदमलाई चान्सलर मर्केलले पनि मुस्कानसहित समर्थन गरेकी छन् । आइतबार मात्रै मर्केलले पनि आफ्नो निर्वाचन क्षेत्रको एउटा कार्यक्रममा हात नमिलाउन आग्रह गरेकी थिइन् । जर्मन चान्सलर र गृहमन्त्रीबीचको यो दृश्य एउटा प्रतिनिधि घटना भए पनि विश्वका कैयौं देशले अभिवादन गर्दा हात नमिलाउन आफ्ना नागरिकलाई आग्रह गरिसकेका छन् । युरोपेली राष्ट्र फ्रान्सले केही दिनअघि मात्रै हात नमिलाउन चेतावनी जारी गरेको थियो । जर्मनीले सार्वजनिक रूपमै यस्तो निर्णय नगरे पनि सोमबारको घटनाले जर्मन नागरिकलाई ठूलो सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।