बुट्टिगग चुनावी अभियानबाट बाहिरिए
(वासिंगटन) अमेरिकाको विपक्षी दल डेमोक्र्याटिकका तर्फबाट राष्ट्रपतिका प्रत्याशी पिट बुट्टिगग चुनावी अभियानबाट बाहिरिएका छन् । डेमोक्र्याटिक दलका तर्फबाट राष्ट्रपतीय उम्मेदवार चुनिन निर्णायक मानिएको १४ राज्यमा हुने ‘सुपर ट्युजडे’ को दुई दिनअघि बुट्टिगग चुनावी अभियानबाट बाहिरिएका हुन् ।
आयोवा राज्यमा भएको डेमोक्र्याटिकको ककसमा आश्चर्यजनक रूपमा विजयी बुट्टिगगले त्यसपछिका तीनटा प्राइमरीमा अग्रता कायम गर्न सकेका थिएनन् । साउथ क्यारोलिनामा शनिबार भएको प्राइमरीमा उनले चौथो स्थानमा चित्त बुझाएका थिए । इन्डियाना राज्यका पूर्वमेयर ३८ वर्षीय बुट्टिगग प्रमुख राजनीतिक दलबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न खोज्ने पहिलो समलिंगी उम्मेदवार हुन् । बुट्टिगगले निर्वाचन अभियान त्यागेको बारे उनको समूहले भने औपचारिक जानकारी गराएको छैन ।
इन्डियानामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै बुट्टिगगले आइतबार आफ्नो अभियानले अघि बढाउन चाहेको मूल्यमान्यतामा बढी जोड दिएका थिए । ‘आफ्ना मान्यतालाई छेउ लगाएर अब पार्टी र देशलाई एक ठाउँमा ल्याउने बेला भएको छ,’ उम्मेदवारको दौड छोडेको घोषणा गर्दै उनले भने ।
बुट्टिगग बाहिरिएपछि डेमोक्र्याट उम्मेदवार बन्ने दौडमा अब ६ जना बाँकी छन् । ‘सुपर ट्युजडे’ मा बर्नी स्यान्डर्सले अग्रता कायम गर्ने अपेक्षा गरिए पनि पूर्वउपराष्ट्रपति जो बाइडनको सम्भावना उत्तिकै रहेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चार राज्यका ककस वा प्राइमरी र ‘सुपर ट्युजडे’ बाट जसले धेरै डेलिगेट्स प्राप्त गर्छन् जुलाईमा हुने पार्टीको अधिवेशन हुँदै नोभेम्बरको चुनावमा उसैले आधिकारिक उम्मेदवारका रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबारको निर्वाचन यस अर्थ पनि महत्त्वपूर्ण छ कि उक्त दिन धेरै मतदाता रहेका क्यालिफोर्निया र टेक्सासमा पनि मतदान हुँदै छ ।