मन्त्री ढकाल : चीनबाट नेपाली फर्काउन मन्त्रिपरिषदले आदेश जारी गरिसक्यो
(काठमाडौं) सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको बताएको छ । त्यसका लागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको छ ।
मंगलबार संसदलाई यसबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले आवश्यक आदेश जारी गरेको जानकारी दिए । ‘संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार सरकारले आदेश जारी गरेर यो ढंगले राख्न सक्ने भन्ने कानूनी प्रावधान अन्तर्गत हिजो मन्त्रिपरिषद बैठकबाट आदेश जारी गरेका छौं’ उनले भने ।
तर उनीहरुलाई कहिले नेपाल ल्याइन्छ भन्ने टुंगो छैन । चीनबाट उद्दार गरिनेहरुबाट अरुमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सचेतता अपनाएको भन्दै स्वाथ्यमन्त्री ढकालले भने, ‘जुन जुन देशले (चीनबाट) लानुभयो । त्यहाँ पनि छिटपुट प्रतिक्रिया आएका छन् । त्यसलाई समेत मध्यनजर गरी जोखिम नहुने सुनिश्चितता गरेर मात्र ल्याउनेछौं ।’
सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्ना लगाएको थियो, जसमा १ सय ८० जनाले स्वदेश फर्किन चाहेको बताएका छन् । ‘चीनमा १७ हजारमा संक्रमण फैलिएको छ, हाम्रामा १३ जनामा आशंका गरेर परीक्षण गर्दा नेगेटिभ देखियो’ उनले भने, ‘चीन सरकार जसरी नाच्छ त्यही तालमा खु्ट्टा उचाल्नुपर्छ भन्ने कुरामा नेपाल सरकार विश्वास गर्दैन’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने ।
मन्त्री ढकालकाअनुसार चीनमा परीक्षण गरेर संक्रमित नभएको पुष्टि भए मात्र नेपाल ल्याइनेछ । ‘त्यहाँ जाँच गर्दा पोजेटिभ भेटिए चीन सरकारले पठाउँदैन । संक्रमण नभएको पुष्टि भएपछि पनि सावधानीका साथ ल्याउँछौं’ उनले भने । त्यसपछि पनि नेपाल ल्याउन सहज छैन । वुहानमा एयरपोर्ट बन्द गरिएको छ भने सार्वजनिक यातायात पनि चन्दैन । त्यसैले चीन सरकारको समन्वयमा मात्र नेपालहीरलाई उद्दार गर्न सकिने मन्त्री ढकालले बताए ।
नेपालको विमानस्थलमा पनि विशेष सुरक्षाको प्रविधि अपनाएका स्वास्थ्य प्राविधिकले उनीहरुलाई रिसिभ गरी १४ दिन क्वारेन्टाइनमा राख्ने मन्त्री ढकालले बताए । ‘१४ दिनसम्मको परीक्षणबाट भाइरस देखिएन भन्ने प्रमाणित भएपछि उहाँहरु सार्वजनिक सम्पर्कमा, आफन्तसँग भेटघाटमा जान सक्नुहुन्छ’ उनले भने ।
चीनबाट फर्काइएकाहरुलाई राख्ने ठाउँमा सकेसम्म एक जनालाई एउटा कोठामा र सम्भव नभए कम्तीमा ६ फिट टाढा राख्ने स्वास्थ्यमन्त्री ढकालले बताए । चीनबाट ल्याइने नेपालीहरुलाई राख्ने ठाउँबारे सरकार निश्कर्ष नजिक रहेको बताए । उनकाअनुसार स्तीदेखि टाढा राख्ने तयारी छ ।