भाटभटेनीका साहु, जसले बालुवाटारमा एनआरएनलाई डुबाए
(काठमाडौं) सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् ।
३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग अहिले अर्बौको सम्पत्ति छ । भाटभटेनीकै मात्र १७ वटा आउटलेटहरु देशभर छन् । एक महिनाअघि उनले बाग्लुङमा पनि भाटभटेनी खोल्ने योजना रहेको बताएका थिए ।
व्यवसायमा ‘सफल’ बन्दै गएका मीनबहादुरलाई आर्थिक छलाङ मार्न ललिता निवासको जग्गा निकै फलदायी बन्यो ।
बालुवाटारको सयौं रोपनी सरकारी जमिन ब्यक्तिका नाममा गराउन आर्थिक लगानी गर्ने, योजना बनाउने र त्यसको लाभ लिनेमा मिनबहादुर नै पहिलो नम्बरमा रहेको अख्तियारले दायर गरेको अभियोग पत्रले पुष्टि गर्छ ।