पूर्व सचिव पत्नीको हत्याप्रयास, कामदारद्वारा झुण्डिएर आत्महत्या
(काठमाडौं) पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्याप्रयास भएको छ। सचिव कार्कीकै घरमा काम गर्दै आएका विशाल चौधरीले हत्याप्रयास गरेका हुन्। सचिव कार्कीकी पत्नी मुनालाई किचेनरुममा मरनासन्न हुने गरी आक्रमण गरेपछि चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
‘टाउकोबाट अत्यधिक रगत बगेर चिन्ताजनक अवस्थामा मुना कार्कीलाई उनकै घरको किचेनमा लडेको भेट्टायौँ’, तामाङले थाहाखबरसँग भने, ‘उनीमाथि आक्रमणमा संलग्न कामदार विशाल चौधरीले घरमै झुण्डिएर आत्महत्या गरेछन्। उनको शव कार्कीकै घरभित्रको कोठामा भेटिएको छ।’ घाइते मुनालाई तत्कालै उपचारका लागि स्टार हस्पिटलमा पठाइएको छ।
उनको गम्भीर अवस्थामा अहिले उपचार भइरहेको छ। डिएसपी तामाङका अनुसार चौधरीले कार्कीमाथि आक्रमण गर्नुको कारण खुलिसकेको छैन। ‘झुण्डिएका चौधरीको हातभरी रगत लतपतिएको भेटिएको छ’, तामाङले भने, ‘कार्कीमाथि आक्रमण गर्न प्रयोग गरिएका प्लाष्टिकको कुर्सीको टुक्रा पनि किचेनभरी छरिएको पायौँ।’ प्रहरीले यस आक्रमणबारे अनुसन्धान तीव्र पारिएको जनाएको छ। ‘प्रारम्भिक अनुसन्धानमा विशालकै संलग्नता देखियो’, तामाङले भने, ‘थप अनुसन्धान भइरहेकाले यसको कारण र पृष्ठभूमिको खोजी गरिरहेका छौँ।’