साढे दुई अर्ब खर्चमा ४ सय सम्पदा पुनर्निर्माण सकियो
(काठमाडौं) भूकम्पले भत्काएका ९२० सम्पदामध्ये ४ सय सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएका सम्पदामध्ये ४ सय वटाको पुनर्निर्माण सकिएको हो, १ सय ५० वटा सम्पदा पुनर्निर्माणको काम चालु आर्थिक वर्षं भित्र सक्ने लक्ष्य रहेको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षभित्र तोकिएको लक्ष्यअनुसार काम भए आगामी असार मसान्तसम्म कूल ६० प्रतिशत सम्पदा पुनर्निर्माण सकिने छ ।
विभागका अनुसार ४ सय सम्पदा पुनर्निर्माणमा अहिलेसम्म २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको छ । यो रकम पुरातत्व विभागले गरेको पुनर्निर्माणको काममा मात्र खर्च भएको हो । यसबाहेक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अन्य स्वदेशी तथा विदेशी संघसंस्थाबाट समेत सम्पदा पुनर्निर्माणको काम जारी रहेको छ ।
भूकम्पले देशका ३१ जिल्लामा ९२० वटा सम्पदा भत्काएको थियो । त्यसमा धराहरा र रानीपोखरी, बसन्तपुर, भक्तपुर र पाटन दरवार स्क्वायरलगायत क्षेत्रमा रहेका सम्पदासमेत परेका छन् । विभागका अनुसार चालु आवमा पुनर्निर्माण गरिसक्ने लक्ष्य तोकिएका १ सय ५० सम्पदाका लागि मात्र ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन भएको छ ।