जेडी कम्प्लेक्समा बसेका मेयरको बागदरबार भत्काउने योजना विफल
(काठमाडौं) तीन वर्षअघि काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले बागदरबारसँगैको जेडी कम्प्लेक्सको झिल्के कोठामा भित्रिएर कार्यभार सम्हाले । उनी सम्भवतः त्यही भाडाको कोठाबाट कार्यकाल पूरा गरेर विदा हुनेछन् ।
मेयरको कार्यालय हुनुपर्ने ऐतिहासिक-पुरातत्विक महत्वको बागदरबार भने त्यो बेलासम्म प्रवलीकारण (रेट्रोफिट)को प्रतिक्षा गर्दागर्दै ढल्ला कि भन्ने चिन्तामा छन्, पुरातत्व विभागका अधिकारीहरु ।
२०७२ सालको महाभूकम्पपछि काठमाडौं महानगरपालिकाको धेरैजसो विभाग जेडी कम्प्लेक्समा सारिएका छन् । भूकम्पबाट क्षतीग्रस्त बागदरबार भत्काउने सुरसार भएकोमा पुरातत्व विभागले अनुमति नदिएपछि ‘रेट्रोफिट’को लागि ठेक्का लगाइयो । टेकुको रहेको महानगरपालिकाको खाली जग्गामा नयाँ कार्यालय भवन बनाउने प्रक्रिया पनि थालियो ।
त्यहीबेला स्थानीय तहको निर्वाचनबाट शाक्य मेयर भएर महानगरमा प्रवेश गरेका थिए ।
उनले अगाडि बढिसकेका कामहरु हुन दिएको भए यतिबेला महानगरपालिका आफ्नै भवनमा फर्किसकेको हुन्थ्यो, एक दर्जन विभाग आधा दर्जन स्थानमा रहने थिएनन् । तर बागदरबारप्रति उनी पुर्वाग्रही देखिन्छन् । मेयर हुनासाथ उनले भनेका थिए, ‘यो पुरातात्विक महत्वको बागदरबार हैन, निकै समयपछि बनेको हरिभवन हो, बागदरबार भनेको त ठेगाना मात्रै हो ।’
अझै पनि उनी यो तर्कमा अडिग छन् । ‘यो बागदरबार हैन भन्ने प्रमाणहरु छन्,’ उनले अनलाइनखबरलाई टेलिफोनमा भने, ‘बागदरबार कसले किन्यो र कसले बेच्यो भनेर जान्ने मन भए मकहाँ आउनुहोला ।’